काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन कार्यतालिकाअनुसार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ।
आयोगका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने अपराह्न ४ देखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिनेछ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्, जसमा ३ हजार ८९ पुरुष, ३ सय ९६ महिला र एक जना अन्य उम्मेदवार रहेका छन्।

