काठमाडौं: कांग्रेस महामन्त्री शशांक कोइरालाले शनिबार गृहजिल्ला नवलपुर आएर १४ औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन् ।
कांग्रेस देवचुली नगर कार्यसमितिले शनिबार निर्माण गरेको बीपी स्मृति भवन उद्घाटन गर्न आएका महामन्त्री कोइरालाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफू सभापतिमा लड्ने बताएका हुन् । उम्मेदवारीको औपचारिक घोषणा भने पछि गर्ने उनले बताए ।
सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला मुख्य प्रतिस्पर्धी छन् ।
टिममा सहमति नहुँदासम्म सबैले आ–आफू उम्मेदवार रहेको बताउँदै आएका छन् ।
भदौ १७ मा सभापतिका प्रतिस्पर्धी चार जनासहित संस्थापनइतर पक्षका मुख्य नेताहरूले पत्रकार सम्मेलनमार्फत आफ्नो टिमबाट एक जना उम्मेदवार हुने उद्घोष गरेका थिए ।
‘कांग्रेस कांग्रेसकै कारणले मात्रै पराजित भएको हो,’ उनले भने, ‘महाधिवेशन पछि कांग्रेस एकजुट हुन्छ । आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउँछ ।’

