बुटवल: बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीलाई मुक्का हानेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुटवल-३ ज्योतिनगरका स्थानीय बासिन्दा समेत रहेका अनेरास्ववियुका जिल्ला सदस्य गणेश पङ्गेनी रहेका छन् ।
ज्योतिनगरमा पहिरो गएपछि प्राविधिक टाेली लिएर अनुगमनका लागि गएका बेला आइतवार मेयर सुवेदीलाई पङ्गेनीले मुक्का प्रहार गरेका प्रहरीले बताएको छ ।
पहिरो पीडितलाई सहयोग गर्नु र साथ दिनुको साटो अनुगमन मात्रै गरिरहेकाले मुक्का प्रहार गरेको पङ्गेनीले बताएका छन् । मेयर सुवेदी एमाले रुपन्देहीका अध्यक्ष पनि हुनुहुन्छ ।
पक्राउ परेको पङ्गेनीलाई शान्ति सुरक्षा तथा दुर्व्यवहार सम्बन्धी मुद्दा चलाएर कारबाही गरिने इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
