कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहले आक्रमण गरेको छ। सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि तस्कर समूहले भौतिक आक्रमण गरेको हो।
गएराति भारतबाट नेपालमा अवैध रूपमा चिनी भित्र्याइरहेका वेला सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि तस्कर समूहले आक्रमण गरेकाे हाे । आक्रमणमा परी सशस्त्र प्रहरीका जवान सुदीप सुनारसहित तीन सशस्त्र प्रहरी घाइते भएका छन्।
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ८ सुन्दरनगर क्षेत्रमा भारतीय तस्कर समूहले सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण गरेर भारततिरै भागेकाे थियाे। मोटरसाइकलमा चिनी तस्करी गरिरहेका वेला सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उनीहरूले सशस्त्र प्रहरीमाथि ढुंगामुढा र लाठी प्रहार गरेका थिए। घाइते सशस्त्र प्रहरी दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि काममा फर्किसकेका छन्।
तस्कर समूहका नाइके भारतमा पक्राउ परिसकेको बताए पनि उनले तस्करको नाम भने खुलाएनन्। ‘हामीले सशस्त्र प्रहरीमाथि कुटपिट गर्ने गिरोहलाई पक्राउका लागि हिजै भारतीय पक्षसँग पत्राचार गरेका थियौँ,’ उनले भने, ‘मुख्य आक्रमणकारी पक्राउ परिसकेका छन्।’
सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीको संख्या ज्यादै न्यून भएकाले तस्कर समूहले सहजै प्रहरीमाथि आक्रमण गर्न सक्ने स्थानीय बताउँछन्।
