काठमाडौं: एमालेमै रहेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसाल लगायत १० नेताले राजनीतिक, विधान र सांगठनिक प्रतिवेदनमाथि असन्तुष्टि राखेका छन् ।
प्रतिवेदनसम्बन्धी प्रस्ताव दसबुँदे सहमतिको मर्मविपरीत भएको उनीहरूले उल्लेख गरेका छन् ।
सोमबार सकिएको स्थायी कमिटी बैठकले फरक धारणा आएका सुझावलाई असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।
एमालेको पहिलो विधान महाधिवेशन असोज १५–१७ हुँदै छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र १० नेता विचको सवाल जवाफ यस्तो रह्यो
१० नेता : संसद् विघटन गलत हो, त्यसले गर्दा पार्टीमा समस्या सिर्जना भयो ।
ओली : संसद् अस्थिरताको थलो बन्ने, असैद्धान्तिक र नीतिहीन गठबन्धन बन्ने, सरकार बनाउने र विघटनको केन्द्र मात्रै बन्ने स्थिति उत्पन्न हुने भयो । यसै बाध्यात्मक परिस्थितिका बीच २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटनको निर्णय भयो ।
१० नेता : तत्कालीन नेकपामा २०७७ भदौ २६ को बैठक धेरै महफ्वपूर्ण थियो, त्यसले एकताबद्ध भएर जाने आधार तयार गरेको थियो । त्यो पनि कार्यान्वयन भएन, सचिवालयमा धेरै समस्या उत्पन्न भए ।
ओली : (भदौ २६ को बारे मौन) समस्या समाधानको प्रयास जारी रहेका बेला २०७७ कात्तिक २८ को केन्द्रीय सचिवालय बैठकमा प्रचण्डद्वारा छापामार शैलीमा अध्यक्षविरूद्ध अभियोगपत्र वितरण गरियो । त्यही दस्ताबेज पार्टी विभाजनको औपचारिक घोषणा थियो ।
१० नेता : दसबुँदे सहमति अधिकांश ठाउँमा लागू भएको छ । तर केही केही ठाउँमा समस्या देखिएको छ । देखिएका समस्या समाधान गर्न अध्यक्ष र सम्बन्धित पक्षहरु बसेर समस्या हल गर्नुपर्छ ।
ओली : केन्द्रीय कमिटी र स्थायी कमिटीले अध्यक्षको प्रस्तावमा दसबुँदे ग्रहण र अनुमोदन गरेको छ ।
१० नेता : दसबुँदे सहमतिका आधारमा हामी मिलेर आइयो । माधव नेपालले चाहनुभएन पार्टी विभाजन गरेर जानुभयो । त्यो दुर्भाग्यपूर्ण हो ।
ओली : एमालेबाट केही व्यक्तिहरुको यो बहिर्गमन र तिनीहरुबाट अलग समूह गठनका पछाडि कुनै सैद्धान्तिक, राजनीतिक, नीतिगत कारण र औचित्य छैन ।
१० नेता : सरकारलाई विस्थापित गर्ने भित्री योजनाकार भनेर को–कोलाई भन्न खोजेको अमूर्त छ । त्यसको योजनाकार हामी होइन । को–को थिए तिनीहरुले जिम्मा लिनुपर्छ । हामीले विभाजन गर्न खोजेकै होइन । उहाँले कसलाई भन्न खोजेको हो त्यो किटान छैन । अहिले विभाजन गरेर जानुभएकाहरुलाई नै योजनाकार भनेर बुझ्नुपर्यो ।
ओली : विभाजनका योजनाकारहरु नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वका विरूद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा संलग्न थिए । यिनीहरु नै २०७२/७३ मा सञ्चालित नेकपा (एमाले) नेतृत्वको सरकारलाई विस्थापित गर्ने भित्री योजनाकार थिए र नेकपालाई सके कब्जा नभए विभाजित गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभियानका सारथि पनि हुन् ।
१० नेता : संविधानको मौलिक अधिकार कार्यान्वयनका सन्दर्भमा सरकारमा हुँदा ठोस ढंगले पर्याप्त ध्यान पुगेन ।
ओली : प्रतिवेदनमा भौतिक उपलब्धि तथा अन्य विषय समेटिएको छ ।
१० नेता : गुटबन्दीको सुरूवात नवौं महाधिवेशनबाट होइन, सातौं–आठौंबाट नै भएको थियो ।
ओली : नवौं महाधिवेशनदेखि नै एमालेभित्र हुर्कंदै गएको गुटगत सोचहरु एकता प्रक्रियालाई वस्तुनिष्ठ आधारमा टुंग्याउन अवरोधका रुपमा देखा परे ।-इकान्तिपुर बाट

