क्यानडाको प्रधानमन्त्रीका रुपमा जस्टिन ट्रूडोले तेस्रो कार्यकाल जिम्मेवारी सम्माल्ने भएका छन् । संसदीय चुनावमा ट्रूडोको लिबरल पार्टीले सबैभन्दा धेरै सिटमा जित हाँसिल गरेको हो ।
यसअघि पनि ट्रूडोको पार्टीले अल्पमतको सरकार बनाएको थियो । कोरोना भाइरसको महामारीकै बेला ट्रूडोले बहुमतको अपेक्षामा चुनावको घोाषणा गरेका थिए ।
कन्जरभेटिभ पार्टी दोस्रो ठूलो बने पनि ट्रूडोको पार्टीलाई पछि पार्न सकेन । ट्रूडोले देशलाई महामारीबाट बाहिर लैजाने अभियानका लागि स्पष्ट मतको खोजीमा चुनाव गराएका थिए ।
सोमबार भएको मतदानको गणना जारी रहँदा ट्रूडोको पार्टी कुल ३३८ सिट मध्ये कम्तीमा १५८ सिटमा अघि रहेको छ । कन्जरभेटिभ पार्टी १२१ सिटमा अघि रहेको छ । बिक्यू ३१, एनडिपी २६ तथा ग्रिन पार्टी दुई सिटमा अघि छन् । बहुमतका लागि १७० सिट चाहिन्छ ।
चुनावी नतिजापछि स्थानीय समय अनुसार मंगलबार बिहानै मोन्ट्रियलबाट सम्बोधन गर्दै चाँडो चुनाव गर्ने आफ्नो निर्णय नागरिकलाई मन नपरेको स्वीकार गर्दै अब नियमित काममा फर्किन उल्लेख गरे ।

