काठमाडौं: सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको स्रोतले जनाएको छ ।
‘ऊर्जामन्त्रीले प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दा राजीनामा माग्नु भएको हो,’ स्रोतले भन्यो ।
२०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
त्यसअघि २०७७ कात्तिक २१बाट उनी कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारीमा थिए । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो ।
घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका ततकालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शाक्यलाई प्राधिकरणको कायममुकायम नेतृत्वमा ल्याएका थिए ।
