काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ३० औं जनयुद्ध दिबस काठमाण्डौको ईच्छुक प्रतिष्ठानमा सम्पन्न गरेको छ । सो ऊपलक्ष्यमा प्रेस बिज्ञप्ती जारी गरेको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको प्रेस वक्तव्यमा छरिएर रहेका क्रान्तिकारीहरुलाई एकताबद्ध भएर अगाडि बढ्न आव्हान गर्नुभएको छ । प्रेस वक्तव्यमा भनिएको छ, “तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गते सुरु गरिएको महान जनयुद्ध तीसौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशभर महान् जनयुद्ध दिवस मनाउन गइरहेको छ ।

यस ऐतिहासिक अवसरमा हाम्रो पार्टी जनयुद्धको प्रक्रियामा सहादत प्राप्त गर्ने वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ, वेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछ र क्रान्तिकारी जनताको त्याग, वीरता र बलिदानका कीर्तिमानहरुको संस्मरण गर्दछ । साथै, यस अवसरमा हाम्रो पार्टी सहिद तथा वेपत्ता योद्धाका परिवारजन, सम्पूर्ण पार्टी कमरेडहरु, समर्थक तथा सुभेक्षुकहरु, आदरणीय जनसमुदाय र भाइचारा कम्युनिस्ट पार्टीहरु तथा विश्व सर्वहारा वर्गप्रति हार्दिक शुभकामना सहित लाल अभिवादन गर्दछ।

सामाजिक क्रान्तिको प्रक्रिया सिधा हुँदैन, क्रान्ति र प्रतिक्रान्तिका अनेकौं चक्रहरु पार गर्दै अगाडि बढ्छ । नेपालमा क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । अनुकूल वस्तुगत परिस्थिति र प्रतिकूल आत्मगत परिस्थितिका बीचमा हामीले तीनओटा क्रान्तिकारी पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)का बीच एकता गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरी क्रान्तिकारी कार्यदिशा पारित गरेका छौं । हाम्रो पार्टी नेपाली तथा विश्व सर्वहारा क्रान्तिका सकारात्मक एवम् नकारात्मक अनुभवहरुबाट सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले लागुगर्दै क्रान्तिको तयारीमा जुटेको छ । महान् जनयुद्धको तीसौं वार्षिकोत्सवको उपलक्षमा हाम्रो पार्टी विभिन्न समूहमा छरिएर रहेका क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न आह्वान गर्दछ ।”


