काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको विधागत घटक सङ्गठन जनसङ्गीत कलाकार सङ्घ नेपालको चौथो राष्ट्रिय सम्मेलन शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघको सभाकक्ष, बागबजारमा शुक्रबार सम्पन्न सम्मेलनले आकाश थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको हो ।
सम्मेलनका प्रमुख अतिथी राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै निर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ गराएका थिए । उपाध्यक्ष आरसी न्यौपाने, भूमिका सुब्बा लगायत अतिथीले शुभकामना दिएका थिए । सम्मेलनको अध्यक्षता बैकुण्ठ महतले गरेका थिए ।

सम्मेलनबाट निर्वाचित समितिमा अध्यक्ष आकाश थापा , उपाध्यक्ष भरत बुढाथोकी, सारदा थापा, विजय दर्लामी चयन भएका छन् । महासचिव जीतेन्द्र चौधरी, सचिवमा चिरन्जीवि अर्याल, लोकमाया थापा, रामप्रसाद पौडेल, देवकला बस्नेत, सीता भण्डारी चयन भएका छन् भने कोषाध्यक्ष शोभा थापा मगर चयन भएकी छन् । त्यस्तै गरी सदस्यमा तिलकबहादुर गुरुङ, कर्णबहादुर गन्धर्व, सुधिरकुमार चौधरी, राजु शाह, मुगा शाह, दीपा रोकाया, इश्वरीप्रसाद भुसाल, संगीता पौड्याल, निरुता खत्री, पोषण घर्ती, मेघराज लुङ्गेली, पुनम साम्बाहाम्फे, दिनेश खड्का चयन भएका छन् ।
कार्यसमितिमा बैठकले आवश्यकता र समावेशीताका आधारमा सबै प्रदेश, जिल्ला र विशिष्ठतालाई हेर्दै पछि केही सदस्य थप्ने निवर्तमान अध्यक्ष बैकुण्ठ महतले जनाए ।
सम्मेलनमा गायक एवम् संगीतकार टीका भण्डारीलाई प्रगतिवादी गीतमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि सम्पन्न गरेकामा सम्मान समेत गरिएको थियो ।
जनसङ्गीत कलाकार संघ नेकपा एमाले निकट कलाकार एवम् संगीतकर्मीको संगठन हो ।

