– माधव घिमिरे ‘अटल’
काठमाडौं। नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन् । शनिबार काठमाडौंको बागबजारमा भएको मतदानमा आचार्यले ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा शैलेन्दुप्रकाश नेपालले जानकारी दिए ।
उनका प्रतिद्वन्दी डा शशि थापा पण्डितले २७ मत पाइन् । निर्वाचित भएसँगै आचार्यले समाजलाई बाल साहित्यकारको साझा संस्था बनाउने प्रतिबद्धता जनाए। ‘सम्पूर्ण बालसाहित्यकारहरुको एउटा साझा संस्थाको रुपमा विकास गर्दै लैजान र सातै प्रदेशको समितिलाई मजबुत ढङ्गले अगाडि बढाउने छु,’ नवनिर्वाचित अध्यक्ष आचार्यले भने । २०४४ सालमा स्थापना भएको नेपाल बाल साहित्य समाज नेपाली बालसाहित्य र सर्जकहरूको अभिलेखीकरण, संरक्षण र प्रवर्धन गर्दै आएको गैरनाफामूलक संस्था हो।
आचार्यले हरेक वर्ष हुने राष्ट्रिय सम्मेलनलाई सार्कस्तरीय बनाउने समेत वाचा गरे । ‘राष्ट्रिय सम्मेलनलाई सार्कस्तरीय सम्मेलनमा स्तरोन्नति गर्ने र अन्तर्राष्ट्रिय स्तरका साहित्यकारबाट पेपर प्रस्तुति दिने प्रबन्ध मिलाउने प्रयास गरिनेछ,’ उनले थपे ।
नयाँ कार्यसमितिका लागि चैत ६ गते उम्मेदवारी दर्ताको दिनमै महासचिवमा विष्णुकुमार खत्री (विष्णु केसी) निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी सचिवमा भानु भट्टराई तथा प्रकाशकतर्फ केन्द्रीय सदस्यमा केशव पराजुली, चित्रकारतर्फ अर्पिता शाक्य र महिलातर्फ यशोदा अधिकारी तथा शिक्षकतर्फ अनिरूद्र अर्याल पनि निर्विरोध निर्वाचित भए ।
अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, खुला दुई सदस्यमा भएको मतदानमा उपाध्यक्षमा विजयराज न्यौपाने, कोषाध्यक्षमा डा. सीता सुवेदी पन्थी, सदस्यहरूमा क्रान्ति पाण्डे र समन श्रेष्ठ निर्वाचित भए ।
कुल ७० मतदाता रहेको समाजको निर्वाचनमा ६९ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक डा. नेपालले जानकारी दिए । नयाँ कार्यसमिति ०८२-८३ को कार्यकालका लागि चयन गरिएको हो ।
नव निर्वाचित अध्यक्ष विजयराज आचार्य
बालसाहित्स समाजका निवर्तमान महासचिव तथा प्रतिष्ठित बालसाहित्यकार हुन् । उनले बालसाहित्यको क्षेत्रमा १०० भन्दा बढी कृतिहरू लेखन, सम्पादन र अनुवाद गरिसकेका छन् । आचार्यको पहिलो मौलिक कृति “शान्तिको आत्मकथा” हो जसलाई नेपाली भाषामा मात्र नभईकन नेवारी, मैथिली, थारू, हिन्दी र अङ्ग्रेजी भाषामा समेत अनुवाद गरी प्रकाशन गरिसकेको छ ।
आचार्य सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार- २०६०, पुष्कर गौतम बालसाहित्य पुरस्कार- २०६७, पारिजात सर्वाेत्कृट बालसाहित्य पाण्डुलिपि पुरस्कार- २०७०, दिलसरी–दल अतिरिक्त पुरस्कार- २०७१, जनवत- केदार/सुदर्शन बालसाहित्य सम्मान – २०७८, भूपेन्द्र स्मृति साहित्य पुरस्कार- २०८० द्वारा समेत सम्मानित भइसकेका छन् ।

