नेपाली बजारमा यस साता सुनको मूल्यमा उच्च दरले गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, साताभरमा सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँले घटेको छ।
साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा १ लाख ८३ हजार ५०० रुपैयाँमा झरेको छ। विश्लेषकहरूका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार वार्तामा प्रगति भएको र व्यापार सुधारको संकेत देखिएको बताएपछि सुनको मूल्यमा यो गिरावट आएको हो।
यसैगरी, चाँदीको मूल्यमा पनि यो साता कमी आएको छ। आइतबार प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ९३० रुपैयाँमा झरेको छ। साताभरमा चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेको संघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको व्यापारिक सुधारको प्रभाव नेपाली बजारमा पनि परेको विश्लेषकहरूको भनाइ छ। आगामी दिनमा मूल्यमा थप उतारचढाव आउन सक्ने अनुमान गरिएको छ।

