वीरगञ्ज — चालु आर्थिक वर्षका पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ३८ अर्ब नौ करोड मूल्य बराबरका पेट्रोलियम पदार्थ आयात भएका छन्। डिजेल, पेट्रोल, एलपी ग्यास, एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट सरकारको राजस्वमा रु १६ अर्ब १२ करोड संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा रु ३९ अर्ब १५ करोड बराबरका पेट्रोलियम पदार्थ आयात हुँदा रु १६ अर्ब सात करोड राजस्व संकलन भएको थियो। यसअनुसार चालु वर्षमा आयात रकमका हिसाबले रु एक अर्ब छ करोडले कमी आएको कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले बताए।
कार्यालयका अनुसार चालु आवको असोज मसान्तसम्म रु १५ अर्ब ७२ करोड मूल्य बराबरका एक लाख ७४ हजार ९२४ किलोलिटर डिजेल आयात भएका छन्। सो डिजेल आयातबाट रु छ अर्ब ९६ करोड राजस्व संकलन गरिएको छ।
त्यसैगरी रु १० अर्ब ७२ करोड मूल्य बराबरका एक लाख २५ हजार ३८० किलोलिटर पेट्रोल आयात हुँदा रु सात अर्ब नौ करोड राजस्व संकलन भएको छ।
त्यसै अवधिमा रु सात अर्ब ४९ करोड मूल्य बराबरका सात करोड ३९ लाख ७७ हजार २७१ किलोग्राम एलपी ग्यास आयात भएको भन्सारले जनाएको छ।
भन्सार कार्यालयका अनुसार पेट्रोलियम पदार्थको आयात र उपभोगमा अघिल्लो वर्षको तुलनामा केही कमी देखिएको छ।

