काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल फुटाउन सभामुखको ‘षड्यन्त्रपूर्ण संलग्नता’ भएकाले संसदको अवरोध कायम राख्ने बताएका छन् ।
तर पार्टीले तोकेका नाराहरु मात्र लगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न उनले सांसदहरुलाई निर्देशन दिए ।
शुक्रबार सांसदहरुले रोष्टममा चढ्ने प्रयास गरेका थिए भने गृहमन्त्रीको माइक खोसेका थिए ।
त्यसको चर्को आलोचना भएपछि एमालेले सांसदहरुलाई प्रशिक्षित गर्न भन्दै आइतबार संसदीय दलको बैठक राखेको थियो ।
वेलमा जाने र तोकिएको नारा मात्र लगाउने पार्टीको निर्धारित कार्यक्रम रहेको भन्दै ओलीले भने, ‘म माननीयजीहरुलाई आग्रह गर्न चाहन्छु, संसदीय मर्यादाभित्र तोकिएका नाराहरु छन् । त्योभन्दा फाल्तु नारा हामी लगाउँदैनौं ।’

