काठमाडौं: आजबाट १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत आजबाट घर तथा घरपरिवारको सूचीकरण शुरुआत भएको हो ।
भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर-घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय तथ्यांक विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंले जानकारी दिए ।
सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।
गत २७ र २८ भदौमा तालिम पाएका ८ हजार ५ सय सुपरिवेक्षकहरुलाई सूचीकरणमा खटाइएको छ । सूचीकरणकै आधारमा मूल गणना गरिन्छ ।
असोज १८ पछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने छ । गणकहरुको तालिमपछि मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने र विवरण भर्ने काम गर्नेछन् ।
यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ ।
