काठमाडौं: नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि थप १० जिल्लाका पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गो लगाएको जनाएको छ ।
कांग्रेसले यसअघि ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरि भदौ १८ गतेदेखि प्रारम्भ भएको पार्टीको वडा अधिवेशन हालसम्म उक्त सबै जिल्लामा सम्पन्न भइसकेको छ ।
बाँकी २० जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी प्रिन्ट भइसकेको र १० जिल्लाको क्रियाशील सदस्यता विवरण पनि आजै सार्वजनिक गर्ने गरी काम भइरहेको बताइएको छ ।
क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् ।
कांग्रेसको पछिल्लो अधिवेशन कार्यतालिकाअनुसार अधिवेशन प्रारम्भ हुन बाँकी २० जिल्लामा गाउँ-नगर वडा अधिवेशन आगामी असोज ५ गते तोकिएको छ ।
त्यस्तै गाउँ-नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते निर्धारण गरिएको उहाँले बताउनुभयो ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ ।
यस्तै कांग्रेसले प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिसकेको छ ।

