अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन्। बिहीबार काठमाडौ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले नेता नेपाललाई फुटको लाइन ठीक नभएको भन्दै एमालेमै फर्कन आग्रह गरेकी छन्।
लामो समयसम्म माधव नेपालको साथमा रहेकी नेतृ शाक्यले काठमाडौं जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, ‘फुटले कसैलाई फाइदा छैन। जुट्नु नै अहिलेको आवश्यकता छ। माधव नेपाल हामी सबैको नेता हो। अग्रज हुनुहुन्छ।‘ आफूले निर्माण गरेको एमाले छाडेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्छु भनेर लाग्नु सम्भव नभएको उनले बताइन्।
नेपाललाई आग्रह गर्दै शाक्यले भनिन्, ‘तपाईंको अहिलेको कदम सही हुन सक्दैन। म अनुरोध गर्छु आफूले जन्माएको र दु:ख गरेको पार्टीमा फर्किनुहोस्। मनमनै समीक्षा गर्नुहोस्। सुदृढ एमाले निर्माणको तपाईंको भूमिका छ। त्यसैले त्यो पंक्तिलाई अल्मल्याएर नराख्नुहोस्।

