सेयर बजार परिसूचक २६ सय अंकको बिन्दुतर्फ ओरालो लागेको छ । आज एकैदिन ११४ अंकको गिरावटसँगै २६९८ अंकमा आएर थामिएपछि सेयर बजार २६ सय अंकतर्फ लागेको हो । यसक्रममा आज १ करोड ७३ लाख कित्ता सेयर किनबेच भई ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा उच्च अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन बीमा समूहमा सबैभन्दा बढी ८०० अंकको गिरावट आएको छ । यसपछि, निर्जीवन बीमा समूहमा ६१४ अंक र विकास बैंक समूहमा ३३२ अंकको गिरावट आएको छ । यस्तै, जलविद्युतमा २२०, होटल एण्ड टुरिजममा १५८ अंक र वित्त समूहमा २२९ अंकको गिरावट आएको छ ।
समग्र बजार घटे पनि आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरधनीहरूले सबैभन्दा बढी कमाएका छन् । आज मनकामनाका सेयरधनीले प्रतिकित्ता ८९ रुपैयाँ कमाएका हुन् ।

