सेयर बजार परिसूचक नेप्से अन्ततः १३.८३ अङ्कले बढेर २७ सय १२.०७ विन्दुमा अड्किन पुगेको छ । मंगलबार बजार खुलेदेखि नै निरन्तर ओरालो यात्रामा रहेको परिसूचक बजार बन्द हुने बेलासम्म बाउन्स ब्याक हुँदै नेप्सेले झण्डै १४ अङ्कको वृद्धि गरेको हो ।
यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत २.३६ अङ्कले वृद्धि हुँदै ५०८.६२ विन्दुमा उक्लिएको छ । यस दिन बैङ्किङ, होटल तथा पर्यटन, विकास बैङ्क, हाइड्रोपावर, जीवन तथा निर्जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहहरु धनात्मक (पोजेटिभ) बन्दा व्यापार, फाइनान्स, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड समूह ऋणात्मक भएका छन् ।
यद्यपि, करिब १४ अङ्कले बढेको बजारमा ७ अर्बको मात्र कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज कुल २२३ कम्पनीको एक करोड ५३ लाख ६ हजार कित्ता सेयर बजारमा ९५ हजार ६४६ पटक किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ अर्बको कारोबार भएको हो ।

