दसैँ नजिकिँदै गर्दा ठाउँठाउँमा सडक अवरुद्ध भएपछि यातायात व्यवसायीहरूले जतिसक्दो छिटो सडक मर्मत गर्न सरकारलाई आग्रह गरेका छन्। लामो तथा छोटो दूरीका अधिकांश सडकमा पहिरो गएको र खाल्डाखुल्डी परेको भन्दै सडक मर्मत नहुँदै दसैँको अग्रिम टिकट बुकिङसमेत नखोल्ने यातायात व्यवसायीले चेतावनी दिएका छन्।
सबैतिर सडक भत्किएको र त्यसको मर्मतमा सरकारले चासो नदिएको भन्दै उनीहरूले सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। बुधबार यातायात व्यवसायी, सडक विभाग र यातायात व्यवस्था विभागबीच भएको छलफलका क्रममा व्यवसायीहरूले सडकको अवस्था सुधार्न आग्रह गरे।
छलफलका क्रममा व्यवसायीहरूले जतिसक्दो छिटो सडक मर्मत गर्न आग्रह गरेका छन्। यातायात व्यवसायी केन्द्रीय महासंघका सचिव सरोज सिटौलाले दसैँको टिकट बुकिङ मात्रै खोलेर नहुने बताए। उनले सडकको अवस्था निकै अव्यवस्थित भएकोले मर्मत गर्नतर्फ सरकारले चासो दिनुपर्ने बताए।
‘सडकको अवस्था हेर्दा गाडी गुडाउन लायक छैन, सबैतिर खाल्डैखाल्डा मात्रै छन्, त्यस्तो सडकमा कसरी गाडी गुडाउने,’ सिटौलाले भने, ‘सरकारले सडक नबनाएसम्म हामीले अग्रिम बुकिङ खोल्दैनौँ।’ उनका अनुसार यसबारेमा बिहीबार पनि यातायात विभागसँग छलफल गरिनेछ।
