कपिलवस्तुमा आजदेखि हैजा विरुद्धको खोप दिइँदै छ । कपिलवस्तुका पाँच पालिकामा हैजा विरुद्धको कोलेरा भ्याक्सिन दिन लागिएको हो । त्यसका लागि स्वास्थ्य मन्त्रालयको टोली कपिलवस्तु जाँदैछ । एक महिनादेखि कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि हैजाविरुद्धको खोप दिन लागिएको हो ।
कपिलवस्तुको यशोधरा गाउँपालिकामा आजदेखि खोप अभियान सुरु गरिनेछ । खोप अभियान हैजाको प्रकोप देखिएको कपिलवस्तुका कृष्णनगर, यशोधरा, महाराजगञ्ज, शिवराज र विजयनगरका सबै वडामा सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तोकिएका केन्द्रमा यो खोप नि:शुल्क पाइनेछ । एक वर्षमाथिका २ लाख ५२ हजार ३ सय ६३ नागरिकलाई यो खोप दिइनेछ ।
यस्तै, कुपोषण भएका व्यक्तिहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, गर्भवती साथै स्तनपान गराइ रहेका व्यक्ति, कोभिड १९ लागेर निको भएका व्यक्तिहरुले पनि यो खोप पाउने छन् । तर, एक वर्ष मुनिका बालबालिका, पखाला लागेका र ज्वरो आएका व्यक्तिले खान मिल्दैन ।
खोप लगाएकाहरुलाई केही सामान्य स्वास्थ्य समस्या भने देखिन सक्छ । हल्का ज्वरो आउने, पेट दुख्ने, वाकवाकी वा पखाला लाग्ने, चिलाउने, स–साना बिमिरा वा खटिरा आउने जस्ता लक्षण देखिने र बिस्तारै निको हुँदै जाने डाक्टरले बताएका छन् ।

