धनगढी: स्वास्थ्य सेवा विभागले ५० देखि ५५ वर्ष उमेर समूह, विश्वविद्यालय तथा विद्यालयमा कार्यरत प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत सवारी चालक र सहचालक, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सक्ने व्यवस्था गरेको छ ।
विभागले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई गरेको परिपत्रमा समेत खोप लगाउने लक्षित समूह किटानै गरेर सोही अनुसार गर्न गराउन निर्देशनदिएको छ ।
तर स्वास्थ्य सेवा विभागको निर्देशन पालना नहुँदा खोपमा ठूलाबडा र पहुँच हुनेहरुको रजाइँ भएपछि लक्षित समूह वञ्चित भएका छन् ।
अहिले खोप केन्द्रहरु पहुँच हुनेहरुले कब्जा गरेपछि दिनभर लाइन बसेर घर फर्किनु पर्ने बाध्यतामा सरकारले नै तोकेका लक्षित समूह छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का ५२ वर्षीय बिरे सार्कीले कोरोनाविरुद्धको खोप लगाउनबुधबार र बिहीबार स्थानीय भृकुटी माध्यमिक विद्यालयमा गएपछि पालो नपाएपछि नलगाएरै फर्किनु परेको गुनासो गरे ।
‘हामीलाई लाइनमा बस्न भनियो, बिहानैदेखि घाम पानी नभनेर लाइन लागेँ,’ उनले भने, ‘तर हामीलाई उछिनेर सोर्सफोर्स लगाएर लक्षित समूहमा नपर्ने व्यक्तिहरुले खोप लगाए हामीले त्यो दृष्य हेरेर साँझपख फर्किनु पर्यो ।’
अहिले विभिन्न पार्टीका नेता कार्यकर्ताहरु कोरोनाविरुद्धको खोप लगाएको कार्ड सामाजिक सञ्जाल फेसबुकमा समेत अपलोड गर्न थालेको पाइन्छ । तर उनीहरु सरकारले तोकेअनुसारको लक्षित समूहमा पर्दैनन् ।
‘अहिले आज खोप लगायो भनेर सामाजिक सञ्जाल फेसबुकमा फोटो अपलोड गर्ने होडबाजी निकै बढेको छ,’ धनगढी उपमहानगरपालिका-३ का चक्र बमले भने, ‘त्यसमा अधिकांश राजनीतिक दलका नेता, कार्यकर्ता, जनप्रतिनिधिहरुका आसेपासे बढी देखिएका छन् । सर्वसाधारणले खोप पाउन सकेका छैनन् । यस्तो विकृती कसले रोकिदिने । आफूखुसी गर्ने भए सरकारले मापदण्ड किन बनाएको हो ?’
सामाजिक विकास मन्त्रालयमै आसेपासेलाई खोप
प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार कार्यालयमै लक्षित समूहबाहेकलाई खोप लगाएपछि चर्को आलोचना खेप्नु परिरहेको छ ।
तर सामाजिक विकास मन्त्री लालबहादुर खड्का र मन्त्रालयका कर्मचारीहरु भने त्यस विषयमा अनभिज्ञता प्रकट गर्दै आएका छन् । ‘त्यो विषयमा मलाई खासै जानकारी छैन । विगतमा खोपको उपलब्धता नभएका कारण सरकारले लक्षित समूह तोकेको हो,’ सचिव रघुराम बिष्टले भने, अहिले परस्थिति फरक छ । १८ वर्ष माथिकाले खोप लगाउन सक्छन् । सोहीअनुसार लगाइयो होला । यसलाई अन्यथा रुपमा बुुझ्न हुँदैन् ।’-अनलाईन खबर
