काठमाडौं: प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ। निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता केपी ओली र माधवकुमार नेपालको संयुक्त हस्ताक्षर रहनुपर्ने भन्ने विषयमा कुरा मिल्न सकिरहेको छैन।
‘एमालेभित्र पार्टी अध्यक्ष ओलीसरह नै नेता नेपालको हस्ताक्षरले पनि वैधता पाउनुपर्ने भन्ने विषयमा एकता अड्किएको छ,’ एमाले स्रोतले भन्यो।
आफू दोस्रो अध्यक्ष नहुने तर आफूनिकट कार्यकर्तामाथि भेदभाव हुन सक्ने र जसको नकारात्मक असरले आगामी निर्वाचनमा उनीहरू अन्यायमा पर्न सक्ने भन्दै संयुक्त हस्ताक्षर आवश्यक रहेको प्रस्ताव नेता नेपालले अघि बढाएका थिए।
एमाले विधानले दोस्रो अध्यक्ष नचिन्ने भएकाले पार्टीभित्रको विवाद मिलाउने कुरामा कार्यदलले तय गर्ने तर केन्द्रमा भने समान हस्ताक्षर आवश्यक रहेको नेता नेपालको भनाइ रहँदै आएको छ।
ओली पक्षबाट कार्यदलमा रहेका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली जसरी पनि पार्टीलाई फुट्नबाट जोगाउनुपर्छ भनेर लागिरहे पनि ओली र उनीनिकट अन्य केही नेताले भने निर्वाचन आयोगलगायत निकायहरूमा संयुक्त हस्ताक्षरको प्रबन्ध गर्नै नहुने अडान राख्दै आएका छन्।
ओलीका तर्फबाट विधान संशोधन गरेर भए पनि नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव गरिएको थियो। तर नेपालले अस्वीकार गरेपछि बराबरीको हैसियतमा संयुक्त हस्ताक्षरको विषय अघि सारिएको थियो।
नेपालले कुरा नमिलीकन भेटघाट नगर्ने बताएपछि ओलीले शनिबार दिउँसो ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाएका थिए। तर बैठक कार्यदलका सदस्यहरूको आग्रहमा स्थगित भएको छ।
कार्यदलका सदस्यहरूले पार्टी एकता बचाउने सम्भावना बाँकी नै रहेको भन्दै गौतमले ओलीलाई नेपालसँग संवाद थाल्न आग्रह गरेका थिए। तर शनिबार रातिसम्म संवादको विषयमा कुनै प्रगति भएको छैन।

