काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा गत बर्ष भन्दा ६३ अर्ब बढी राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । चालू आर्थिक बर्षको यो अवधिमा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको हो ।
यो वृद्धि गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब र प्रतिशतका आधारमा १३ प्रतिशत हो ।
गत आर्थिक वर्ष पुस मसान्तसम्म केवल ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।
चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध प्राप्तिसमेत गरी ५ खर्ब ६७ अर्ब राजस्व संकलन भएको छ । जुन कुल वार्षिक लक्ष्यको ४० प्रतिशत हो ।

चालु आर्थिक वर्षको पुस सम्ममा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो भने संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो । पुस महिनामा मात्र १ खर्ब ६० अर्ब राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।
गत असोजको बाढी पहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात प्रभावित, विद्युतीय सवारी साधनको आयात संख्या वृद्धि, दुरसञ्चार क्षेत्रमा परेको प्रभाव, आयात तथा मागमा कमी लगायतले असर पारेपनि चालु आर्थिक वर्षको ६ महिनामा उल्लेखनीय रुपमा राजस्व संकलन भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले बताए ।

