दिनेश राज खरेल
काभ्रेपलान्चोक ।
प्रगतिशील लेखक सङ्घ काभ्रेको नियमित रचना वाचन गत शनिबार प्रगतिशील लेखक संङ्घका केन्द्रीय पार्षद सदस्य कवि दिल पौडेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियो ।
महिनाकाे नियमित रचना वाचनमा एक स्रष्टाकाे कृति माथि समिक्षात्मक टिप्पणी गर्ने गरिन्छ। साे कार्यक्रममा उपन्यासकार केशव घिमिरेकाे उपन्यास `रुपिका´माथि समिक्ष गरिएको थियो । उपन्यासकार घिमिरेको उपन्यासकाे कवि भवानी पाण्डेले परिचर्चा गर्नु भएको थियो।
` रुपिका´ उपन्यासमाथि परिचर्चा गर्दै समीक्षक पाण्डेले, ‘रूपिका उपन्यास एउटा ग्रामीण समुदायको ऐनाको रुपमा प्रस्तुत भएको बताउनु भयो ।` उपन्यासले एउटा ग्रामीण समुदायमा भएको बेथिति , रुढीबादी, परम्परा र विसङ्गतिका विरुद्ध औंला उठाएको छ। उपन्यासमा एउटा गाउँले जीवनमा आइपर्ने हरेक किसिमका बाधा अवरोधलाई राम्रोसँग केलाएको पाइन्छ । सबै शिक्षित हुँदाहुँदै पनि समाजको डरले मानिसले चाहेर पनि समाजलाई केही कुराहरु बुझाउन नसकेको र आफूले पनि चाहेर समाजको विरुद्ध आवाज उठाउन नसकेको कथनलाई स्पष्ट रुपमा प्रस्तुत गरिएको प्रष्ट्याउनु भयो।´
उपन्यासमा सिन्धुली जिल्लाको कमला खोजको वातावरण पाउन सकिन्छ । महाभारत पर्वत कमला नदी र चारकोसे झाडीको पनि राम्रोसँग बयान गरेको पाइन्छ। कमला खोजमा मनाइने चाडबाड, लगाइने बालीनाली र त्यहाँको समय अनुसारका जीवनशैलीलाई राम्रोसँग वर्णन गरिएको छ। अब नेपाली समाज एउटा जातमा मात्रै नअडिएर जातभन्दा माथि रूढीवादी भन्दा पर र विभेदमुक्त समाज सहितको समाज परिकल्पना र प्रतिभा र क्षमता भएको मानिसको समाज निर्माण गर्नमा रूपीका उपन्यासले महत्वपूर्ण भूमिका खेलेको छ।
रूपिकाले समाजका हरेक किसिमको व्यतिथि विरुद्ध आवाज उठाएको छ। उपन्यासमा काजी बाको मृत्युलाई लिएर थोरै आश्चर्य माने पनि उपन्यास भने आफ्नै गतिमा बगेको पाइन्छ। उपन्यास संयोगान्त भएका कारणले पनि त्यति धेरै ठूलो द्वन्द भएको पाइँदैन।` रूपिका´उपन्यास प्रेम विषयमा आधारित मात्र नभई एक सामाजिक विषयवस्तुमा पनि आधारित रहेको छ। जो कोहीले सहजै पढ्न सक्ने र बुझ्न सक्ने यस उपन्यासले अहिलेको समाजमा जति नै पढे, लेखेका मानिस भएपनि अझै पनि कुरिती र कुप्रथाले गर्दा मानिस अल्पज्ञानी जीवन बिताइरहेको पाइन्छ भन्ने कुरा उपन्यासले दर्शाउन खोजेको पाण्डेको भनाइ रहेको छ।
यहाँ बिहेको प्रसङ्गलाई लिएर केही राम्रो सन्देश दिन खोजेको छ। छोरी मान्छे पहिलेको जस्तो जो माग्न आए पनि बुबाआमाले टिका लगाएर पठाए झैँ अहिलेका छोरी चेलीहरु नजाने र गाई बाख्रा जिम्मा लगाएझै सहज रुपमा नअन्मिने र त्यस्ता कुराको प्रतिकार गर्दै आफ्नो रोजाइको हक पनि देखाउन खोजिएको छ। एउटा शिक्षित व्यक्ति जीवनको अन्तिम कालखण्डसम्म पनि विवेकहिन हुनुहुँदैन । शिक्षा जीवनका लागि अतिनै ठूलो कुरा हो भनेर पनि देखाइएको छ। कहीँ कतै शिक्षालाई पनि सर्वपरिमानी उपन्यासलाई अघि बढाएको पाइन्छ। उपन्यासको बीच भागतिर हामीले क्रान्तिका कुराहरू पनि पाउन सक्छौं। यसले गर्दा पनि प्रष्ट हुन्छ कि रूपिका उपन्यास विशुद्ध प्रेममा मात्रै आधारित छैन। यसलाई हामीले खुलेरै भन्न सक्छौ एक सामाजिक उपन्यास हो।’
यस्तै प्रतिक्रियाहरू राख्दै समीक्षक पाण्डेले उपन्यासकार केशव घिमिरेका आउँदा दिन सुखद र सरल बन्दै जाउन र आउँदा कृतिहरू अझ सशक्त भएर आउन भन्दै शुभकामना दिँदै आफ्नो भनाइ टुङ्ग्याउनु भयो, भने जिल्लाका अन्य अग्रज तथा वरिष्ठ साहित्यकारहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

