–लक्ष्मण उप्रेती
उठ रे मनहरु, उठ
बिहानीको धूपसँगै,
तिमीभित्र अपार
टल्किएको विश्वास झुल्केको छ
अन्धकारलाई चिरेर
क्षितिज पारि हेर त टाकुरामा
नयाँ युगको स्वर गुन्जायमान छ!
रात निदाएर पनि
यहाँ समय कहिल्यै सुतेको छैन
जागै छ्न उत्पिडनहरु
तिमी जहाँ मौन छौ,
त्यहाँ अन्याय हुर्कनेछ
हावा सुसाउछ नयाँ शन्देसमा
धरती काँप्दै उठ्द्छ
र सुनाउँछ ती हृदयका कथाहरू,
जसलाई इतिहासले
सिकाएको छ क्रान्तिको पाठ!!
ओ वीर आत्मा
तिमी पनि एउटा सूर्य हौ
तिमी पनि तातिनुपर्छ,
जल्नुपर्छ र जाग्नु पर्छ
सिंगो काललाई उज्यालो पार्न
तिम्रा शब्दहरू
अब मौन नहुन्,
ती बनून् बिजुली
जसले च्यातुन
पुराना शृङ्खलाहरू!!!
हे दिनको सन्देश!
तिमी क्रान्तिको गीत हौ,
तिमी चेतनाको स्पन्दन हौ
न त तिमी चिच्याउने भीड हौ,
न निराशाको क्रन्दन
तिमी त चुपचाप बग्ने एउटा विद्युत हौ,
यहाँ जसको गर्जनले
झस्काउँछ शोषणको पर्वतलाइ
ढाल्दछ वेजोड सङ्ग
र बन्दछ नयाँ धरातल
समानताको सन्सार !!!!

