अछाम — अछामको पञ्चदेवल विनायक नगरपालिका–८ बरालाको सेरापानीस्थित चुरेखोली टोलमा छाउ बार्न त्रिपालमा बसिरहेका बेला भिरबाट खसेको ढुंगाले लागेर एक महिला र एक बालिकाको मृत्यु भएको खबरले फेरि देश स्तब्ध बनेको छ। मासिक धर्मलाई अशुद्ध ठान्ने अन्धविश्वासका कारण महिलाहरू अझै पनि जीवन गुमाउन बाध्य भइरहेको यथार्थप्रति नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले गम्भीर आक्रोश प्रकट गरेकी छन्।
उनका अनुसार, “आजको २१औँ शताब्दीमा मासिक धर्म वा रजस्वला जस्तो प्राकृतिक स्वास्थ्य प्रक्रियालाई अशुद्ध ठानेर भगवान रिसाउँछन् भन्ने अन्धविश्वासमा आफ्नै छोरी–बुहारीलाई मृत्युको मुखमा धकेल्नु अस्वीकार्य छ। यसप्रति स्थानीय नेतृत्व मौन बस्नु भनेको अपराधलाई सहयोग गर्नु हो।”
यसअघि गत असार अन्तिम साता कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमै सुतेकी कमला आउजीको सर्पदंशबाट मृत्यु भएको थियो। अधिकारकर्मीहरूको तथ्यांकअनुसार, गएको दुई दशकमा मात्र छाउगोठमा बसाइँकै कारण कम्तीमा २६ जनाले ज्यान गुमाइसकेका छन्।
२०७४ सालमा कानुन बनाएर छाउपडी प्रथालाई अपराध घोषणा गरिएको भए पनि व्यवहारमा अझै यो प्रथा कायमै छ। महिलाहरू छाउगोठमा बस्न बाध्य हुँदा यौन हिंसा, स्वास्थ्य समस्या, मानसिक आघात र यहाँसम्म कि बलात्कारसम्मको जोखिम भोग्नु परेको देखिएको छ।
नेतृ संग्रौलाले अब छाउपडी अन्त्यको जिम्मेवारी स्थानीय तहकै नेतृत्वले लिनुपर्नेमा जोड दिएकी छन्। उनका अनुसार, सबै प्रमुख राजनीतिक दलहरूले यसविरुद्ध ठोस अभियान चलाउन जरुरी छ। खासगरी छाउ बार्न बाध्य पार्ने पार्टी सदस्यलाई चेतावनी दिने मात्र होइन, आवश्यक परे पार्टीबाटै निष्कासन गर्नुपर्ने माग उच्च बन्दै गएको छ।
उनले थप भनिन्, “२००७ सालमा हलो क्रान्तिको नेतृत्व गरेर सामन्तवादविरुद्धको संघर्ष जितेको नेपाली कांग्रेसले आफ्नै ऐतिहासिक विरासतलाई सम्झिनुपर्छ। अब छाउपडीसहित सबै खाले सामाजिक विभेद अन्त्य गर्न ढिलाइ नगरी कांग्रेसले अग्रसर हुनुपर्छ।”

