२०८२ असोज १६ गते
विश्वभर छरिएर रहेका नेपालीहरूले आज बडादसैँ पर्व उत्साहका साथ मनाउँदै छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ।
समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार असोज १६ गते (बिहीबार) बिहान ११:५३ बजे टीकाको शुभ साइत रहेको छ। यस्तै, देवी विसर्जनको साइत बिहान ९:२३ बजे तोकिएको छ। टीका लगाउने र लगाइमाग्ने व्यक्तिहरूले पूर्व फर्कनुपर्ने समितिले जनाएको छ।
यसैबीच, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको शुभ साइत पनि सार्वजनिक गरेको छ। यो साइतले विश्वभरका नेपाली तथा सनातन धर्मावलम्बीहरूलाई दसैँको उत्सवलाई एकरूपताका साथ मनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बडादसैँ नेपालीहरूको महान् चाडका रूपमा परिचित छ, जसले परिवार र समुदायलाई एकताबद्ध गर्ने अवसर प्रदान गर्छ। यो पर्वमा टीका, जमरा र आशीर्वादको विशेष महत्व रहन्छ ।

