देशभर जारी अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानको गम्भीर जोखिमलाई ध्यानमा राख्दै प्रधानमन्त्री सुशीला कार्कीले शनिबार साँझ राष्ट्रका नाममा विशेष सम्बोधन गरेकी छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै दुई दिनसम्म वर्षा निरन्तर रहने सम्भावना रहेको भन्दै उनले सबै नागरिकलाई सुरक्षित रहन र सतर्कता अपनाउन अपिल गरिन्।
देशका अधिकांश नदी–नालाहरूको जलस्तर उच्च सतर्कताको सीमामा पुगेको र निरन्तर वर्षाका कारण खतराको तहमा पुग्ने खतरा बढेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरूलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिमा पनि उच्च मनोबलका साथ पूर्ण तयारीमा छन्।”
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी तथा अन्य सेवाप्रदायक निकायहरू २४सै घण्टा आपतकालीन सेवामा परिचालित रहेको बताउँदै उनले सरकारले सबै उपलब्ध स्रोत र जनशक्ति परिचालन गरी स्थानीय तह तथा नागरिकसँग सहकार्यमा जुटेको जानकारी दिइन्। महत्वपूर्ण राजमार्ग तथा पूर्वाधारहरूको निरन्तर निगरानी भइरहेको र अवस्था अनुमति दिनासाथ सडकहरू पुनः सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरिन्।
नागरिकहरूलाई प्रत्यक्ष अपिल गर्दै प्रधानमन्त्रीले भनिन्, “तपाईं जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्। अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस्। बाढीको पानी वा पहिरो प्रभावित क्षेत्रमा आवतजावत नगर्नुहोस्।” डुबान वा पहिरो जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई ज्यान र सम्पत्तिको सुरक्षा गर्न सावधानी अपनाउन तथा प्रहरी र विपद् व्यवस्थापन निकायका आधिकारिक चेतावनीहरू पालना गर्न आग्रह गरिन्।
“तपाईंहरूको सुरक्षा नै हाम्रो सरोकार हो। राज्यका सम्पूर्ण स्रोतहरू आज तपाईंहरूसँग छन्। तपाईं यो कठिन समयमा एक्लो हुनुहुन्न,” उनले थपिन्। विपद् जोखिम न्यूनीकरणका लागि सरकारले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा घोषणा गरेको समेत जानकारी दिइन्। यस निर्णयले नागरिकहरूलाई सुरक्षित रहन थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
देशभर भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने सम्भावना छ। हामी बाढी, पहिरो, डुबान र कटानको उच्च जोखिममा छौं र जोखिमको परिस्थिति बढ्ने क्रममा छ। हाल नदी–नालाहरूको बहाव उच्च सतर्कताको तहमा छ र निरन्तर वर्षाका कारण खतराको तहमा जान सक्ने सम्भावना अधिक छ। धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ।
यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरूलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा छन्। यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरू आपतकालीन सेवाहरू नागरिकहरूलाई यथासम्भव तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरू सुरक्षित गर्न २४सै घण्टा तयार अवस्थामा रहेका छन्।
हामीले सबै उपलब्ध स्रोतहरू परिचालन गरेका छौं र सबै आम नागरिक, राष्ट्रिय र स्थानीय निकायहरूसँग मिलेर काम गरिरहेका छौं। हामी महत्वपूर्ण राजमार्ग तथा अन्य अत्यावश्यक पूर्वाधारको सक्रिय रूपमा निगरानी गरिरहेका छौं र अवस्थाले अनुमति दिने बित्तिकै सडक मार्गहरू पुनः खोल्नलाई प्राथमिकता दिनेछौं। हाम्रा टोलीहरूले काम गरिरहेको बेला म सबैलाई प्रत्यक्ष अपिल गर्दछु। तपाईं जहाँ जुन अवस्थामा हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्। अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस्। बाढीको पानीमा वा पहिरोमा गाडी नचलाउनुहोस् वा आवतजावत नगर्नुहोस्। तीव्र बहाव, डुबान र अस्थिर सडकहरूको खतरा उच्च छ।
यदि तपाईं डुबानमा पर्न सक्ने क्षेत्र वा पहिरो जोखिमयुक्त भूभागमा हुनुहुन्छ भने ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउनुहोस्। कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र गर्नुहोस्। प्रहरी र अन्य विपद् व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरूलाई ध्यान दिनुहोस्। तपाईंहरूको सुरक्षा नै हाम्रो सरोकार हो। आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस्। सम्भाव्य विपद्को जोखिमको आकलन गर्दै सरकारले मिति २०८२ असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
हामी तपाईंहरूको चिन्ता र कठिनाइलाई बुझ्छौं। म प्रष्ट पार्न चाहन्छु तपाईं यसमा एक्लो हुनुहुन्न। राज्यका सम्पूर्ण स्रोतहरू आज तपाईंहरूसँग छन्। हामी यो जोखिमलाई मिलेर पार गर्नेछौं। हामी नियमित रूपमा अद्यावधिक सूचना तथा जानकारीहरू प्रसारण गरिरहनेछौं। अन्तमा यहाँहरूसँग मेरो अनुरोध छ, यहाँहरू सुरक्षित र सावधानीपूर्वक रहनुहोस्।
धन्यवाद।

