काठमाडौँ। आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात सञ्चालन रोक्ने निर्णय गरेको छ।
प्राधिकरणका अनुसार आज असोज १८, भोलि १९ र पर्सि २० गते सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधन तथा काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ।
भारी वर्षा तथा अति भारी वर्षाबाट हुन सक्ने बाढी, पहिरो र डुबान जस्ता सम्भावित विपद् बाट जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले यो निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
साथै, उक्त निर्णयको अनुगमन र कार्यान्वयन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायमार्फत गर्न प्राधिकरणले निर्देशन दिएको छ।