बालुवाटारमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आइतबार बिहान भएको भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिनेमा केन्द्रित छ।
कांग्रेसबाट एक राज्यमन्त्रीसहित २ मन्त्री, माओवादीबाट २ मन्त्री मात्रै छन्। अध्यक्ष नेपालले नयाँ पार्टी गठन गर्दै दर्ता गरिसकेकोले अब मन्त्रिपरिषद बिस्तार गर्न लागिएको हो।
कसले कति मन्त्रालय पाउने भन्नेबारे सत्तारूढ दलमा छलफल भइसकेको छैन। सत्तारूढ गठबन्धनमा ५ दल रहे पनि राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ।
कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा सरकारमा जाने तयारीमा छन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साउन ३ मा प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। उनीहरू पनि सरकारमा जाने वा नजाने भन्ने टुंगोमा पुगिसकेका छैनन्। अध्यक्ष प्रचण्डले शनिबार पनि प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए।

