काठमाडौ: अफगानिस्तानको काबुलमा उद्दारको पर्खाइमा रहेका ४२ जनामध्ये ८ जनाले काबुल छाडेका छन्। काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ किलोमिटर दूरीमा रहेका ३४ नेपाली उद्दारको पर्खाइमा छन्।
‘उद्दार उडानको पर्खाइमा रहनुभएका ३४ नेपाली नागरिकहरूलाई सुरक्षाको दृष्टिकोणले थप सुरक्षित र व्यवस्थित ठाँउमा स्थानान्तरण गरिएको छ’ परराष्ट्र मन्त्रालयद्वारा शनिबार साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको छ।’
तीन समूहमा रहेका उनीहरुलाई भारतीय कूटनीतिक अधिकारीहरुको समन्वयमा गुरुद्धारामा राखिएको थियो जहाँ भारतीय नागरिक पनि उद्दारको पर्खाइमा थिए। स्रोतका अनुसार परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय र काबुलस्थित भारतीय दूतावाससँग नेपालीहरुको उद्दारका लागि समन्वय गरिरहेका छन्।
तालिवान समूहले शुक्रबार नै गुरुद्धारा खाली गर्न दबाव दिएको भन्दै शनिबार अपरान्हसम्म नेपालीहरु त्रासमा थिए। उनीहरुलाई काबुलस्थित भारतीय राजदूतावासका अधिकारीसँगको समन्वयमा त्यहाँबाट सारिएको छ।
भारतीय नागरिक लिन जाने एयरफोर्सको जहाजले उहाँहरूलाई दिल्लीसम्म पुर्याइदिने प्रतिबद्धता जनाएको समाचार प्राप्त भएको छ । काबुलमा अहिले अमेरिका, बेलायत, जर्मनी र भारतीय सेनाको एयरफोर्सले नागरिक उद्दार गर्दै आएका छन्।

