काठमाडौ: माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपाललाई पार्टी नेतृत्वले अनिर्णयको बन्दी बनाएको नेताहरुले गुनासो गरेका छन् ।
कार्यकर्ताहरुलाई आफ्नो नेतृत्व आफैं चुन्न पनि नदिने र नेताहरुले पनि नचुनिदिने गर्नाले आफूहरु अन्योलमा परेको वाइसिएल नेताहरुको गुनासो छ ।
माओवादी केन्द्रका नेताबाट पनि संगठनात्मक क्षेत्रमा पार्टीको तदर्थवादी प्रवृति देखिएको भन्दै टिप्पणी सुरु भएको छ ।
वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुबोध सेर्पालीको दाबी छ ।
सहमतिमा अध्यक्ष चयन गर्ने भनिए पनि सहमति जुट्न नसकेपछि नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।
हालका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले देवकोटालाई प्रस्ताव गरे पनि सेर्पाली सहमत भएका छैनन् ।
सहमति नजुटेपछि वाइसिएलले आफ्नो नेतृत्वको चयन गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।
माओवादी केन्द्रका नेता अनिल शर्माले सामाजिक सन्जालमा लेखेका छन्, ‘वाइसिएल नेपालको राष्ट्रिय भेला हाम्रो पार्टीको मनोदशाको एउटा ज्वलन्त नमूना हो । संगठनात्मक क्षेत्रमा रहेको पार्टीको यो तदर्थवादी प्रवृतिले स्वयं पार्टीलाई मात्र होइन समग्र आन्दोलनलाई क्षति पुर्याइरहेको छ । कि निर्णय गर्न सकौं, होइन भने कार्यकर्ताप्रति भर परौ ! विषयलाई अनावश्यक जटिल नबनौं !’
