काठमाडौँ । राजधानीका नागरिक र आगन्तुकहरूका लागि खुसीको खबर — अब काठमाडौँका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट प्रयोग गर्न सकिने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा देशकै पहिलो व्यापक सार्वजनिक इन्टरनेट विस्तार अभियानको रूपमा यो सेवा सुरु गरिएको हो।
मन्त्रालयका अनुसार अस्पताल, मन्दिर, विमानस्थल र यातायात कार्यालयहरू जस्ता भीडभाड हुने स्थानमा वाइफाइ सेवा विस्तार गरिएको छ। यसअघि उपलब्ध स्थानमा मर्मत, गुणस्तर सुधार र क्षमता विस्तार गरिएको छ भने आठ नयाँ स्थानमा नयाँ जडान गरिएको हो।
नयाँ वाइफाइ स्थापना र विस्तार भएका स्थानहरूमा काठमाडौँको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्रमुख छन्। साथै, ठूलोभ¥याङ र एकान्तकुनास्थित यातायात कार्यालयमा पनि क्षमता अभिवृद्धि भएको छ।
भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ वाइफाइ जडानको काम भइरहेको मन्त्रालयले जनाएको छ। सेवाको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाहरूले नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीसँग सहकार्य गरेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार वीर अस्पताल, परोपकार प्रसूति गृह (थापाथली अस्पताल), त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, गङ्गालाल हृदयरोग केन्द्र, सिभिल अस्पताल, ट्रमा सेन्टर, पाटन अस्पताल, माथेमा उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा वाइफाइको गति १० एमबिपिएसबाट १५० एमबिपिएसमा वृद्धि गरिएको छ। साथै, प्रत्येक प्रयोगकर्ताका लागि डेटा सीमा १०० एमबीबाट बढाएर ५०० एमबी गरिएको छ।
नेपाल टेलिकमले निःशुल्क वाइफाइ सेवा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित ३५ अन्य विमानस्थलमा विस्तार गर्ने योजना अघि सारेको छ। भक्तपुर क्यान्सर अस्पतालमा ६ र कीर्तिपुर अस्पतालमा ५ एक्सेस प्वाइन्टसहित नयाँ वाइफाइ जडान भइसकेको छ।
सञ्चारमन्त्री खरेलले असोज ६ गते पदभार ग्रहणका क्रममा नै दुई महिनाभित्र उपत्यकाका सबै प्रमुख सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सुरु गर्ने निर्णय गरेका थिए। मन्त्रालयका अनुसार अब उपत्यका बाहिरका १० प्रमुख सहरमा पनि सेवा विस्तारको तयारी भइरहेको छ।
मंगलबार बिहान ११ बजेदेखि मन्त्री खरेलसहितको अनुगमन टोलीले नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रत्यक्ष अनुगमन गर्ने समेत गरेको छ।

