काठमाडौं: काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ।
काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिकरुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
तर बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिगि्रएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी शहर दुर्गन्धित बनेको छ।
सिसडोलवासीसँग मंगलबार बेलुका भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गरिने छ ।
साथै सिसडोलका विद्यालय र क्लबहरुमा खेलकुद सामग्रीको व्यवस्थापन गर्ने तथा सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने उल्लेख छ ।
