काठमाडौ: काेराेना संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि अनुसार सम्बन्धित प्रशासन तथा स्थानीय निकायको अनुमतिमा काठमाण्डौ उपत्यकाबाहिर केही विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन भैरहेको छ ।
काठमाण्डौ उपत्यकाभित्रका केही विद्यालयमा समेत भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ ।
स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिमा लकडाउनको प्रकृतिअनुसार स्वास्थ्य मापदण्डको पालना गरी खुला गर्ने क्षेत्र, उपक्षेत्र तथा क्रियाकलापलाई कडा लकडाउन, मिश्रित लकडाउन, नरम लकडाउन र न्यूनतम लकडाउन गरेर चार भागमा विभाजन गरेको छ ।
यस्तै शैक्षिक संस्था सञ्चालनमा कडा लकडाउन भएको ठाउँमा भर्चुअल माध्यममा, मिश्रित लकडाउन भएको ठाउँ स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रशासनिक कार्य मात्र गर्न सकिने व्यवस्था छ ।
यस्तै, सफ्ट लकडाउनमा भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन तथा सम्बन्धित कक्षाको कुल क्षमताको ३३ प्रतिशत नबढ्ने गरी आलोपालो गरेर भौतिक उपस्थितिमै पठनपाठन गर्न सकिने उल्लेख छ ।
न्यूनतम लकडाउन भएको ठाउँमा भने स्वास्थ्य सुरुक्षा मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने व्यवस्था छ ।

