रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ। बुटवल १७ र १८ मा पर्ने सो क्षेत्रमा पर्ने औद्योगिक करिडोरको नाममा रहेको जग्गा कब्जा गरेर संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको जनाएको छ।
निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिम हरिहरपुरको खोतियोग्य जमिन (बुटवल उपमहानगरपालिका वडा नं १७, उत्तर तर्फ शिवनगर रानीगाउ बस्ति बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं १८ औद्योगिक करिडोरको जमिन ९धन्दापुर सौरहियासम्म) तोकिएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग निषेधित क्षेत्र घोषणा गरेको हो।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले औद्योगिक क्षेत्रको जग्गामा अवैधरुपमा अतिक्रमण हुने जोखिम बढेकाले निषेधाज्ञा जारी गरिएको बताए।
‘निषेधितक्षेत्र भित्र निषेध गरिएका क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुन्छ’, उनले भने । जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन्।
बुटवल–१७ का वडाध्यक्ष सन्तबहादुर रानाले सुकुम्बासीका नाममा ओद्योगिक क्षेत्रको जग्गा अघिल्ला वर्षहरुदेखि नै अतिक्रमण भइरहेको जनाए।
मोतीपुरको ९ सय ४६ विगाहा क्षेत्रफलमा फैलिएको जग्गामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ओद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाएको छ। स्थानीयको विरोध र ढुंगामुढाका बिच एमाले नेता विष्णु पौडेलले गत फागुन २१ गते औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए।
