काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आउँदो निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
माओवादी मुख्यालय पेरिसडाँडामा बुधबार बिहान आयोजित दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले कसैले नपत्याए पनि माओवादी पहिलो पार्टी हुने जिकिर गरेका हुन् ।
पहिलो संविधानसभामा माओवादीको पक्षमा जनलहर ‘छप्पर फाटेर’ आएको र अब त्यस्तै माहोल ल्याउन पार्टी पुनर्गठन र रुपान्तरणको अभियान सुरु गरेको प्रचण्डले बताए ।
‘यसबीचमा नेपाली जनताले माओवादी नै देशभक्त, गणतन्त्रवादी, संघीयतावादी शक्ति रहेछ भन्ने थाहा पाइसकेका छन्,’ उनले भने, ‘यो १५ वर्ष देशको राम्रोसँग नेतृत्व गर्न नपाई बितेछ ।’
प्रचण्डले दुईपटक आफूले सरकारको नेतृत्व गरेको र छोटो समयमै माओवादीबाट १०० भन्दा बढी मन्त्री बनाएको स्मरण पनि गरे ।
दिवंगत नेता बोगटीको स्मरण गर्दै उनले भने, ‘उहाँ सरल हुनुुहन्थो, सहज हुनुहुन्थ्यो । जहाँजहाँ पार्टीलाई असजिलो पर्यो त्यहाँ उहाँको स्मरण हुन्थ्यो । साथीहरूका बीच बहस छलफललाई लिएर पहल गर्ने विशिष्ट चरित्र थियो उहाँमा ।

