काठमाडौं, मङ्सिर २१ गते । गत असार १ गते गएको बाढीपहिरोले क्षति पुर्याएपछि मेलम्चीको पानी काठमाडौँ ल्याउन थप समस्या भएको छ । मेलम्ची खानेपानी आयोजनाले बाढी र पहिरोले क्षति गरेको क्षेत्रमा अस्थायी मर्मतपछि चैत भित्र पानी ल्याउने लक्ष्य राखेको थियो । मर्मतको काम सुरु नहुँदा लक्ष्य पूरा हुन कठिन हुँदै गएको छ । केही समय पहिले खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको मुहानसम्मै निरीक्षण गरेर अस्थायी रुपमा काम गरेर भए पनि तत्काल उपत्यकामा पानी ल्याउन निर्देशन दिनुभएको थियो ।
मुहान क्षेत्रमा मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीले शुक्रबार गरेको निरीक्षणमा ठूला आकारका ढुङ्गा धेरै र साँघुरो क्षेत्र भएकाले तत्काल मर्मत गरेर चैतसम्ममा पानी ल्याउन सक्ने सम्भावना कम भएको निष्कर्ष निकालेको छ ।
मेलम्ची खानेपानी विकास समितिले मुहानसम्म पुग्ने सडक मर्मत भइसकेकाले पानी ल्याउन सकिने बताएको छ । तर, सरकारले अस्थायी मर्मतका लागि निर्देशन नदिएपछि काम सुरु गर्न नसकिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । पुरानै ठेकेदार अथवा नयाँ ठेकेदार प्रयोग गर्ने भन्नेमा स्पष्ट भइसकेको छैन । मर्मतको काम अस्थायी गर्ने या स्थायी रुपमा अघि बढ्ने भन्ने स्पष्ट नहुँदा काम अघि बढाउन नसकिने उहाँले बताउनुभयो ।
तत्काल अस्थायी काम गरेर चैतभित्र उपत्यकामा पानी ल्याए पनि फेरि असार, साउनमा बाढीपहिरोबाट क्षति पुग्ने सम्भावना उत्तिकै रहेको उहाँले जानकारी दिनुभयो । अस्थायी मर्मतका लागि मात्र ९० करोड रुपियाँ लागत लाग्ने अनुमान समितिले गरेको छ ।
यता एसियाली विकास बैंकको सहयोगमा मेलम्ची मुहान माथिबाट आउने पहिरोको दीर्घकालीन समाधानका लागि अध्ययन सुरु भएको समितिले जनाएको छ । अध्ययन पछिको प्रतिवेदन अनुसार दीर्घकालीन योजना तयारी गरी काम गरेमा मेलम्ची खानेपानी आयोजना प्रभावकारी हुने समेत प्रवक्ता पन्तले बताउनुभयो । तर, मन्त्रीले तत्काल अस्थायी उपायबाट पानी ल्याउन निर्देशन दिइसक्नुभएको छ । सरकारले मर्मतको काम अगाडि बढाउन निर्देशन दिए सोही अनुसार काम अघि बढाउने पक्षमा समिति रहेको जनाएको छ । छ दशक अघिदेखिको उपत्यकाबासीको पानी पिउने सपना पूरा हुने सम्भावना अझै पनि कमै देखिएको छ ।
