काठमाडौं: राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ।
कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको समाचार प्राप्त भएको छ ।
आयोजनाले आज मात्रै विद्युत्गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ। आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो।
यस्तै जिआइएस समेत चार्ज भएको छ। सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ। आजसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब सोमबारदेखि ती उपकरणलाई लोडमा चलाइने छ।
आयोजनाबाट उत्पादित बिजुली विद्युत्गृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ। ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो।
माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ।
आयोजना अन्तिम चरणमा पुगेपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत पैदा गरेको छ।
सुरुआती लागत ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्बको हाराहारी पुगेको छ।

