नेकपा एमालेको कार्यदलको बैठक स्थगित भएको छ । बिहीबार साँझ ७ बजे पुनः बस्ने गरी कार्यदल बैठक स्थगित भएको हो ।
एमाले नेता सुवास नेम्वाङले सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य आवश्यक रहेकाले साँझ पुनः बस्ने गरी बैठक सकिएको जानकारी दिए । बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् ।
आजको बैठक ढिला गरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको थियो । माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक आधा घण्टा ढिला भएको थियो ।
कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको थियो । दुई नेताको छलफलमा लुम्बिनीका मुख्यमन्त्री समेत रहेका ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी भएका थिए ।
सोभेटबारे जानकारी गराउन रावल माधव नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वरबाट रावल फर्किए लगत्तै कार्यदलको बैठक शुरु भएको थियो । बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिएको छ ।

