काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १० दिनको म्याद थपेको छ । लामिछानेमाथि अनुसन्धानका लागि यो तेस्रो पटक म्याद थपिएको हो ।
लामिछाने यतिबेला जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका छन् । अनुसन्धानका लागि म्याद थपिएसँगै उनलाई बुटवल अदालतमा पनि उपस्थित गराउने तयारी गरिएको छ । प्रहरीले मंगलबार लामिछानेमाथि अनुसन्धानका लागि २५ दिनको म्याद थप मागेको थियो ।
उक्त १० दिनमा तिहार बिदासमेत गणना गरिने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । यसकारण अनलाई प्रहरीले चार दिनपछि अदालत पेस गर्ने छ ।
लामिछानेलाई मंगलबार म्याद थपका लागि अदालतल पेस गरिँदा रास्वपाका कार्यकर्ताहरुले पोखरामा प्रदर्शन गरेका छन् ।
सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छवि जोशीसहितलाई मंगलबार अदालत पेस गरिएको थियो ।
कास्की जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेलाई ७ दिन थप हिरासतमा राख्न अनुमति दिएको थियो ।
८ गतेबाट सातदिन कात्तिक १४ गतेसम्म भए पनि १५ गतेबाट तिहार बिदा परेपछि बिदा सकिए लगत्तै लामिछानेलाई आज अदालत पेस गरिएको हो ।
सरकारी बिदा सकिएपछि कार्यालय खुलेको पहिलो दिन प्रहरीले आरोपीलाई अदालतमा उपस्थित गराउने गर्छ । अदालत तिहारको टीका सकिएको पर्सीपल्ट अर्थात २० गतेबाट मात्र खुलेपछि आज लामिछाने लगायतलाई प्रहरीले अदालतमा पेस गरेको हो ।

