काठमाडौं: नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ।
लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो।
बैठकमा नेताहरूले एकताका लागि भइरहेका विभिन्न प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए।
‘बैठकमा यथाशक्य पार्टीको विवाद निरूपण गर्नेबारे सबैको एकमत छ। यसै साताभित्र यी विषय टुंगो लगाएर जानुपर्छ भन्ने हाम्रो धारणा रह्यो। मलाई लाग्छ, यसै साताभित्र पार्टीको विवाद निरूपण हुन्छ,’ पार्टीको सचिवसमेत रहेका भीम आचार्यले भने।
उनका अनुसार दुवैतर्फबाट एकताविरोधी गतिविधि नगर्न आग्रह गरिएको छ। ओली पक्षबाट भ्रातृ संगठनका नाममा भइरहेका अराजक गतिविधि बन्द गराउन पनि बैठकले आग्रह गरेको छ।
युथ फोर्स, पिपुल्स भोलेन्टियर्स, अखिल फोर्सजस्ता दस्ता बनाएर गरिने गालीगलौज बन्द गर्न बैठकले आग्रह गरेको हो।

