पूर्वमाओवादीका चार सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन्। टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहले सांसद पद पुनर्बहालीको माग गर्दै अदालतमा रिट दर्ता गरेका हुन्।
उनीहरुले औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको दाबी गर्दै आफ्नो सांसद पद पुनर्बहाली गर्न माग गरेका छन्। नेता रायमाझीले अदालतमा पेश गरेको रिटमा भनिएको छ, ‘केपी ओलीले नेतृत्व गरेको एमालेमा म औपचारिक रुपमा प्रवेश गरेको छैन। एमालेको पार्टी सदस्यता लिएको छैन। २०७८ असार २३ मा म निवेदकले निर्वाचन आयोगमा निवेदन निकालेको प्रतिलिपि अनुसार नेकपा एमालेको केन्द्रीय सदस्यमा म छैन। नेकपा माओवादी एकता केन्द्रको केन्द्रीय सदस्यमा रहेको छु।
नेकपा माओवादी (एकता केन्द्र)ले आफूलाई कुनै स्पष्टीकरण सोधेर जवाफ दिने मौका नै नदिइएको उनको दाबी छ। सो विरुद्धको रिटमाथिको सुनुवाइको पेशी बिहीबारका लागि तोकेको छ।

