काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले सामन्ती तत्त्वहरूले गणतन्त्रविरुद्ध षड्यन्त्र गरिरहेको ठोकुवा गरेका छन् । समाजवादी मोर्चा नेपालले हिजो आयोजना गरेको बृहत् जनप्रदर्शनपछि आयोजित जनसभालाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्।
जनसभालाई सम्बोधन गर्दै संयोजक विप्लव सीले भने – ‘नेपाली जनताले सामन्तवादी प्रवृत्ति, अधिनायकवादी हर्कतलाई पराजित गरेका छन् । जसको स्वर्ग ढल्यो, ती तत्वले विदेशीको उक्साहटमा गणतन्त्रविरुद्ध षडयन्त्र भइरहेको छ, नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन् । प्रतिगामीहरूले राजतन्त्र फर्काउने कुरा गरेका छन् । हामीलाई कुनै प्रभुको खाँचो छैन । हामीलाई सामन्तवादी हैकम चलाउनेहरूको खाँचो छैन । हामी मुक्ति चाहन्छौ । फेरि सामन्तीका भूतले अर्को बोझ थप्न खोजे हामी स्वीकार गर्छौ ?’
यसैगरी, संयोजक विप्लव सीले मुलुकमा राजतन्त्र फर्काउन खोजे फेरि राजावादीहरू पछुताउनु पर्ने बताउदै भने- ‘नेपालमा किन राजतन्त्र चाहियो ? अढाई सय सालसम्म राजतन्त्रले के गर्यो ? पञ्चायतदेखि अहिलेसम्म सबै थाहा छ । पञ्चायतमा बोल्न पाइँदैनथ्यो । कमैया, दलित, किसानमाथि दमन थियो, जनआन्दोलन, विद्रोहले ध्वस्त भएका मान्छेहरू धुलो टकटकाउँदै उठ्न थालेका छन् । विभिन्न प्रवृत्ति गठजोड गरेर राजतन्त्र फर्काउन खोजेका छन् । राजतन्त्र फर्केर के हुन्छ ? उनीहरू फेरि पछुताउनुपर्छ ।’
संयोजक विप्लव सीले गणतन्त्र आएपछि केही मान्छेहरूको उठीबास भएको बताए । उनले दुई वटा दुस्मनविरुद्ध सँगै लडेको भन्दै सामन्तवादको बन्धनलाई नेपाली जनताले उठ्नै नसक्ने गरी परास्त गरेर गणतन्त्र आएको बताउदै भने- ‘जसले हारे, सत्ता गुमाए, स्वर्गको आनन्द भङ्ग भएको महसुस गरे उनीहरू विदेशी शक्तिको आडमा गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको छ। नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन्, केही मान्छे प्रतिगामीहरू राजतन्त्र फर्काउन प्रयास गरिरहेका छन् हामीलाई सामन्तीहरूको खाँचो छैन ।’
संयोजक विप्लव सीले गणतन्त्रवादीहरुले आफ्ना कमजोरी सच्च्याउनु पर्ने बताए । उनले समाजवादले मात्र किसान, युवा विद्यार्थीका समस्या समाधान गर्ने भन्दै भइरहेका खेलहरूबाट विचलित हुन आवश्यक नभएको बताउदै भने- ‘नेपालमा ढलेको ध्वस्त भएको शासन आउन सम्भव छैन। ‘धेरै मच्चिन जरुरी छैन मच्चिए थच्चिनुपर्छ ।’

