लघु कथा
——-लक्ष्मण उप्रेती
सुवर्णपुरको गाउँमा एउटा पुरानो माध्यमिक विद्यालय थियो।एकजना वृद्ध शिक्षक त्यस विद्यालयमा पढाउनुहुन्थ्यो, सबैले उहाँलाइ स्नेहपूर्वक “माष्टर बा” भन्थे। नाम थियो शिव प्रसाद , तर अब कसैले नामले बोलाउँदैनथे।उहाँ आफैं अब गाउँकै ज्ञान र विद्याका बा बन्नु भएको थियो।
उहाँले दशौं पुस्ता पढाउनु भएको थियो। उहाँसँग किताब कम, तर अनुभवको खजानाको भण्डार धेरै थियो। पाठ सिकाउनुभन्दा अगाडि उहाँ सधैं एउटा कुरा भन्नुहुन्थ्यो,” असल मान्छे बन ,त्यस पछि ठूलो मान्छे” “मानव बन्, त्यसपछि मात्र विद्वान्।”
उहाँको अनुहारमा मुस्कान, स्वरमा मिठास, तर अनुशासनमा कडाइको भाव हुन्थ्यो। विद्यार्थीहर उहाँसङ्ग डराउँथे र माया पनि गर्थे। कहिले फलफुल,कहिले केही न केही लिएर विद्यालय पुग्थे विद्यार्थीहरू ; उपहार होइन, कृतज्ञता थियो त्यो।
समय बित्दै गयो। एकदिन उहाँले रिटायर हुने घोषणा गर्नुभयो। त्यो दिन विद्यालयको आँगनमा भेला भएका थिए गाउँका सबै मान्छेहरु सम्पन्न हुँदै थियो बिदाइ कार्यक्रम ; कोही डाक्टर, कोही इन्जिनियर, कोही किसान,कोही जनप्रतिनी र कोही सन्चारकर्मी सबैको उपस्थिति थियो एउटा साझा मन्चमा ;-गर्वका साथ भन्थे सबैले “हामी माष्टर बा का विद्यार्थी हौं।”
कार्यक्रमा सन्चालक एक सञ्चारकर्मीले सोधे, “बा, तपाईंको सबैभन्दा ठूलो उपलब्धी के हो?”
उहाँले मुस्कुराउँदै भन्नुभयो, ” म त एउटा दियो मात्र हुँ, जसले अन्धकारमा अरूको बाटो उज्यालो पार्न सक्छ। यही नै मेरो ठुलो धन हो।” सबैले भन्न थाले ;-” एक शिक्षकको मूल्य कितावले होइन,जीवन वदल्ने प्रेरणाले उजागर गर्छ,नदेखिने गरि यसले अग्रगामी समाज र ब्यबस्थाको आधार खडा गर्छ। ” हामीले बुझ्नु पर्छ शिक्षक समाज ब्यबस्थाका आधार ,विद्यार्थी यसका उपरी संरचना हुन भन्दै थिए कार्यक्रम सन्चालक।कार्यक्रम समापन भयो।अँध्यारो रात हुँदै दियो ,बासस्थानमा सबै उज्यालो पार्ने दियो खोजीरहेका थिए।
२०८२/०२/१० गठ्ठाघर जर्मन होम्स।

