ललितपुर, असार १८ — ललितपुर महानगरपालिकाले सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको पूर्णरूपमा स्वास्थ्य बिमा गरिदिएको छ। यसका लागि बुधबार स्वास्थ्य बिमा बोर्डसँग समझदारीपत्रमा हस्ताक्षर गर्दै एक करोड रुपैयाँ प्रिमियम भुक्तानीसमेत गरिएको महानगरले जानकारी दिएको छ।
समझदारीपत्रमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले हस्ताक्षर गर्नुभएको हो।
यस योजनाअन्तर्गत महानगरका नगर प्रहरी, सरसफाइकर्मी, सवारीचालक, टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी) र महानगरभित्र बसोबास गर्ने एकल महिलाको शतप्रतिशत प्रिमियम महानगरपालिकाले नै बेहोर्नेछ।
महानगरले दुई वर्षअघि पाटन अस्पतालसँगको सहकार्यमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो। यसबीचमा बिरामीको शय्यामा अक्सिजन व्यवस्थापन, शव व्यवस्थापनका लागि मर्चरी हाउसको व्यवस्था लगायतका नमूना पहलहरू गरिएको जनाइएको छ।
महानगरप्रमुख महर्जनले ललितपुरवासीको स्वास्थ्य उपचार सुनिश्चित गर्न हरेक सम्भव प्रयास भइरहेको बताए। “हामीले पाटन अस्पतालसँग सहकार्य गरेर बिरामीको शय्यामा अक्सिजन सहज बनाएका छौँ। मर्चरी हाउसको व्यवस्था पनि गरिसकेका छौँ। यो कार्यक्रम देशकै नमूना हो,” उहाँले भन्नुभयो।
स्वास्थ्य क्षेत्रमा चिकित्सकको अभाव र लापरबाही हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै महर्जनले स्वास्थ्यको हकलाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राखेको बताए।
यस कार्यक्रमबाट विशेषगरी निम्न वर्ग, एकल महिला तथा सेवा प्रवाहमा खटिने श्रमिकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।
महानगरको यस कदमले सामाजिक सुरक्षातर्फ स्थानीय तहको सक्रिय भूमिका अझ स्पष्ट बनाएको छ।

