सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि बस्दैछ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बस्न लागेको बैठकमा संगठन विस्तार, आगामी चुनाव, पार्टीको भावी कार्यदिशा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए । बैठकमा सहभागीका लागि केन्द्रीय सदस्यहरु आउने क्रम जारी रहेको छ ।
केन्द्रीय समितिको बैठक बेलुका बस्नेछ । विस्तारित बैठकको एजेन्डाबारे कार्यकारिणी समितिको बैठकमा छलफल भइरहेको छ । उनले भने, ‘पार्टी कार्यकारिणी समितिको बैठक तीन दिनदेखि चलिरहेको छ । आज सो बैठक सकेपछि केन्द्रीय समितिको विस्तारित बैठक बस्नेछ ।विस्तारित बैठक भोलिसम्म चल्ने छ ।
केपी शर्मा ओलीले संसद् विघटन गरी चुनावको मिति घोषणा गरेपछि पार्टीका अध्यक्ष सिके राउत चुनावको तयारीमा जुटिसकेका थिए । प्रदेश, जिल्ला तथा स्थानीय तहलगायतमा चुनाव सम्बन्धी विभिन्न गतिविधिहरू सुरु गरिएको थियो । तर, काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि जनमत पार्टीको चुनावसम्बन्धी अभियान तथा गतिविधिहरू सेलाएका छन् । । जनमत पार्टीले चैतमा महाधिवेशन सम्पन्न गरेपछि निरन्तर संगठन सुदृढीकरणमा लागेको छ ।

