काठमाडौं: चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारको राजस्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान गरेको छ ।
नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो ।
पछिल्लो वर्ष सरकारको कुल राजस्वमा चौधरी ग्रुपको योगदान १.७३ प्रतिशत रहेको छ । एउटा व्यापारिक समुहबाट सरकारको राजस्वमा भएको संभवतः यो सबैभन्दा ठूलो योगदान हो ।
कोभिड–१९ का कारण विश्वव्यापी अर्थतन्त्र ओरालो लागेको, नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको, निजी क्षेत्रद्वारा सञ्चालित उद्यम व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको र आपूर्ति श्रृखंला अवरुद्ध भई व्यापारिक कारोबारमा गिरावट आएको समयमा ग्रुपले सरकारी ढुकुटीमा उक्त रकम योगदान गरेको हो ।
“कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा चौधरी ग्रुपले राजस्वमा गर्न सकेको उल्लेख्य योगदानकोे तथ्यले मलाई उत्साहित बनाएको छ” अध्यक्ष चौधरीले भने, “स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिद लगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु ।”
विगत चार आर्थिक वर्षमा चौधरी ग्रुपले नेपाल सरकारको राजस्वमा ४५ अर्ब ५० करोड रूपैयाँ योगदान गरेको छ । चौधरी ग्रुप मातहत सञ्चालित कम्पनीहरूले उक्त योगदान गरेका हुन् । चौधरी ग्रुपले खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रसम्म लगानी गरेको छ । यस ग्रुपका अध्यक्ष चौधरी नेपालमा एकमात्र डलर अर्बपतिको सूचीमा रहेका छन् ।
गत वर्ष कोभिडका कारण ग्रुपद्वारा सञ्चालित सीजी इन्डष्ट्रियल पार्कमा रहेका उद्योगहरू करिब दुई महिना बन्द रहेका थिए । स्वास्थ्य संकटका कारण व्यहोर्नु परेको लकडाउनले आपूर्ति श्रृंखलामा नराम्रो असर परेको थियो ।
“अर्को पक्षबाट हेर्दा यस्तो संकटमा पनि यो तहको योगदान गर्न सक्नु ग्रुपको कुशल व्यवस्थापनको नतिजा हो जसले हामीलाई क्राईसिस म्यानेजमेन्टमा धेरै कुरा सिकाएको छ” ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी भन्छन्, “हामी नेपालका धेरै क्षेत्रहरुमा लगानी विस्तार गरिरहेका छौं र चालु आर्थिक वर्षको राजस्वमा हाम्रो योगदान पक्कै पनि योभन्दा माथि रहनेछ । नेपालको आर्थिक विकासको प्रक्रियामा उल्लेख्य योगदान गर्न पाउनु हाम्रा लागि सधैं गर्वको विषय हो ।”
आर्थिक वर्ष नेपाल सरकारको कुल राजस्व
(रु लाखमा) चौधरी ग्रुपको योगदान (रु लाखमा) राजस्वमा योगदान
(प्रतिशत)
२०७४/०७५ ५,८८४,३६७ ९६,७५७ १.६४
२०७५/०७६ ६,९५४,०१७ ११६,७५९ १.६८
२०७६/०७७ ६,६०९,६२१ ९८,७२३ १.४९
२०७७/०७८ ८,२५८,२३५ १४२,८०० १.७३
-कारोबार दैनिक

