काठमाडौं: भौतिक उपस्थितिमा पठनपाठन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सरकारले विद्यालयहरुलाई आग्रह गरेको छ ।
तिहार र छठ लगत्तै सबै विद्यालय खुल्ने तयारी भइरहेको बेला शिक्षा मन्त्रालयले विद्यालय पुनः सञ्चालन कार्यढाँचा, २०७७ मा भएको व्यवस्था पालना गर्न आग्रह गरेको छ ।
कार्यढाँचामा अनिवार्य मास्कको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको ज्वरो नियमित मापन गर्नुपर्ने, हात धुने साबुन वा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विद्यार्थीबीच भौतिक दूरी कायम गर्नुपर्ने, धेरै विद्यार्थी भए सिफ्टमा पठनपाठन गर्नुपर्नेलगायत व्यवस्था उल्लेख छ ।
मापदण्ड पालना भए, नभएबारे पालिकाहरुले अनुगमन गर्नेछन् ।
यसअघि खुलेका धेरै विद्यालयले स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ ।
साना कक्षाका बालबालिकाले मास्क साटासाट गर्ने, एउटै बोतलमा पानी पिउने तथा भौतिक दूरी पालना नगर्ने समस्या देखिएको छ ।
कतिपय विद्यालयमा शिक्षकले नै मास्क नलगाउने गरेको पाइएको अभिभावकको गुनासो छ ।
वैशाखमा लकडाउन भएपछि बन्द भएका विद्यालय भदौको पहिलो हप्तादेखि खुल्न थालेका हुन् ।
सरकारले कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने अधिकार पालिकाहरुलाई दिएको छ ।
विद्यालय खुले पनि कोरोनाको जोखिम भने कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न सरकार र सरोकारवालाले आग्रह गर्दै आएका छन् ।

