नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनमा दुई सय ५० भन्दाबढी चिकित्सक परिचालन गरिने भएको छ। महाधिवेशनअन्तर्गतको स्वास्थ्य समितिले महाधिवेशनका लागि चिकित्सकसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ । स्वास्थ्य समितिको संयोजक भानुभक्त ढकाल र उपसंयोजक वैकल्पिक केन्द्रीय सदस्य रचना खड्का सहसंयोजक रहेका छन्।
समितिका सदस्यले चितवनमा गएर खुलासत्र हुने नारायणी नदीको किनार र बन्दसत्र हुने सेभेन स्टार होटेलको अवलोकन गरिसकेको छ। समितिले प्राथमिक उपचारदेखि भैपरी आउने स्वास्थ्य समस्या हेर्ने गरी व्यवस्थापन गरेको संयोजक ढकालले बताए। आवश्यक सङ्ख्यामा तयारी अवस्थामा एम्बुलेन्स राखिनेछ।
महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते नारायणी नदी किनारमा चिकित्सकहरुको नेतृत्वमा औषधि र उपकरणसहितको चारवटा स्टल राख्ने तयारी भएको छ।
समितिमा रहेका डा कृष्ण अधिकारी र डा सन्तोष पौडेलले दुई दिनअघि चितवनमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीसँग छलफल गरेर आवश्यक व्यवस्थापन टुङ्गो लगाएको छ। फिल्डमा खटिने अधिकांश चिकित्सक चितवन र आसपास क्षेत्रका रहनेछन्।
आमसभा वा बन्दसत्रका लागि निर्धक्कसँग आउनेजाने र स्वास्थ्यको जोखिम नहुने गरी व्यवस्थापन गरिएको संयोजक ढकालले बताए। खुला र बन्द दुवै सत्रमा अनिवार्यरुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने व्यवस्था मिलाइएको छ।

